के. आई. नेपालद्वारा भारतबाट महिला तथा किशोरीको उद्धार कार्यमा तिव्रता

मानव बेचविखन तथा लैङ्गिक हिंसा विरुद्ध विगत १० वर्षदेखि क्रियाशिल रुपमा कार्यरत संस्था के.आई.नेपालले प्रभावितहरुको उद्धार गर्ने क्रममा रोजगारीको लागि दिल्ली हुदै तेस्रो मुलुक पुर्याउन लागेकी १ महिलाको भारतको दिल्लीबाट उद्धार गरेको छ ।

मेचीनगर झापा घर भएकी वर्ष ४० की उक्त महिलालाई मनिषा शिवाकोटी नाम गरेकी एक महिलाले कुबेतमा रोजगारीको लागि पठाउने बहानामा दिल्ली पुर्याएर नौसाद नामक एक भारतीय व्यक्तिको जिम्मा लगाई आफु त्यहाँवाट फरार भएको पिडीत महिलाले बताएकी छिन् ।

केही समय अगाडि भारतका विभिन्न सामाजिक संघसंस्थासंगको भेटघाट र छलफलको क्रममा के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराई र दिल्ली महिला आयोग प्रमुख स्वाती मतियाल बीच बेचबिखनमा परेका नेपाली महिला तथा बालबालिकाहरुको उद्धार र पुनस्र्थापना कार्यमा सहकार्य गर्ने सहमति भए बमोजिम दिल्ली महिला आयोग र के.आई. नेपालले दिल्लीको कमालपुर क्षेत्रमा छापा मारेर उक्त महिलाको उद्धार गर्न सफल भएको हो ।

नेपाली महिलाहरुलाई भारत हुदै तेस्रो मुलुकममा रोजगारीको बहानामा पुर्याउने कार्यका पुरै गिरोह सक्रिय रहेको स्वीकार गरेका नौसादलाई पुलिसले पक्राउ गरेको छ भने रोजगारीको वहानामा दिल्लीमा अन्य नेपाली महिलाहरु पनि यसरी नै वन्धक बनाएर राखिएको हुन सक्ने आशंका व्यक्त गर्दे दिल्ली महिला आयोगले यस घटनाप्रति गम्भीर भएको बताएको छ ।

विगतका वर्षहरुमा झै यस वर्ष पनि दुई महिनाको अन्तरालमा ३ महिला तथा ३ किशोरीको उद्धार गरी परिवारमा पुनर्मिलन गराउन सफल यस संस्थाले भारतको विभिन्न ठाउँमा रहेर बेचबिखनको जोखिममा रहेकाहरुको उद्धार र पुनस्र्थापना गरी सीप समेत सिकाई आत्मनिर्भर वनाउने र परिवार तथा समुदायमा पुनर्मिलन गराउने कार्यलाई निरन्तर दिदै प्रभावकारी रुपमा अघि बढीरहेको संस्थाका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभएको छ ।